
हामी पनि भित्र आउँछौं
“मिकी दिदी । के गरिरहनु भएको ?” राजुले सोध्यो ।
“केही होइन ।” राजुुले आफूलाई देखेको हँदा मिकीले हडबडाउँदै भनी । बैठक कोठाको ढोका बन्द थियो । भित्रको खास खुसको आवाज बाहिरसम्म सुनिन्थ्यो । मिकी बाहिर ढोकामा कान लगाएर कुरा सुन्न खोजिरहेकी थिई । तर, उसले केही पनि बुझिरहेकी थिइन । त्यति नै बेला त्यहाँ राजु आइपुगेको थियो ।
“मलाई थाहा छैन र ! भित्रको कुरा सुनिरहनु भएको त हो नि !” राजुुले भन्यो ।
“भाइ यो कुरा आमालाई नभन है ।” उसले भाइलाई संझाउँदै भनी ।
हुन्छ । तर, भित्र के कुरा भइरहेको छ ?” राजुले पनि जान्न खोज्यो ।
“खोइ । राम्रोसँग बुझिदैन ।” मिकीले नाक खुम्चाई ।
“भित्र को–को हुनुहुन्छ नि ?” राजु उत्सुक भयो ।
“हजुरबुबा–हजुरआमा, बुवा–आमा, काका–काकी र जानकी फुपू ।” मिकीले भनी ।
“भित्र अरु त कोही पनि रहेनछन् । साँच्चै हामीलाई बाहिर राखेर आमाहरूले के कुरा गरिरहनु भएको होला ?” राजु कुरा जान्न झन उत्सुक भयो ।
“खोई मलाई के थाहा ? भित्र गएर सोध्नु पर्छ ।” मिकीले भनी ।
“सबै जना भित्र बसेर कुरा गरिहेको छन् । हामी मात्र किन बाहिर ? हिड्नहोस् ! दिदी हामी पनि भित्र जाऔं ।” राजुले मिकीको हात तान्दै भन्यो ।
“हो त नि ।” मिकीले पनि राजुको कुरामा सही थापी । दुबै जना मिलेर ढोका ढकढकाए ।
“किन ? के भयो ?” आमाले ढोका खोल्दै भन्नुभयो ।
“हामी पनि भित्र आउने ।” राजु र मिकी दुबैले एकैसाथ भने ।
“पर्दैन । केटाकेटीहरूको यहाँ के काम ?” आमाले हकार्दै भन्नुभयो –“ यहाँ ठुला मान्छेहरू कुरा गर्दैछन् । तिमीहरूको काम छैन । बरू खेल्न जाओं ।” आमाले सम्झाउँदै भन्नुभयो ।
“नाइ । हामी पनि भित्र वस्ने । ” राजुले जिद्दी ग¥यो ।
“केटाकेटी भएर कति जान्ने भएका ?” भित्रबाट बुबाले हर्कानु भयो ।
बुबाको कडा स्वर सुनेर राजुु चुप लाग्यो । मिकी र राजु निन्याउरो अनुहार लगाएर फर्किए । छोराछोरीको चित्त दुःखाएकाले आमा पनि उनीहरुको पछि पछि आउनु भयो ।
“किन चित्त दुखाएका ? ठूलामान्छेहरु छलफल गरेको ठाउँमा सानाको के काम ?” आमाले दुवैलाई फकाउन थाल्नु भयो ।
“हामीलाई पनि त छलफल सुन्न मन लाग्छ । हामीले पनि आफ्नो मनमा लागेका कुरा भन्न पाउछौ नि ? हामीलाई बाहिर नै राख्नु पर्छ र ?” मिकीले गुनासो पोखी ।
“बरु भन्नुहोस् आमा । भित्र के कुरा भइरहेको थियो ?” राजुले उत्सुक हुँदै सोध्यो ।
“तिमीहरुलाई किन चाहियो ? ” आमाले झर्कदै भन्नुभयो ।
“भन्नुहोस् न आमा । भन्नुहोस् न । ” मिकीले जिद्दी गरिन् ।
“फुपू जानकीको बिहेको कुरा गरिरहेका थियौँ ।” आमाले भनिन् ।
“जानकी फुपूको विहे !” एकैसाथ दुवै खुसी हुँदै कराए ।
“चुप । तिमीहरु त्यसै हल्ला गर्छौ । त्यसैले त तिमीहरुलाई भन्नहुन्न भनेको ।” आमा रिसाउनु भयो । आमा रिसाउनु भएको देखेर दुवै जना चुप लागे । आमा उनीहरुलाई बाहिर छोडेरै फेरि बैठक कोठामा जानुभयो ।
“आहा ! जानकी फुपूको बिहे ।” मिकी खुसी भई ।
“फुपूको विहेमा, म त झिल्के कमिज लगाउँछु । लालमोहन र रसवरी टन्न खान्छु ।” बिहे भोजमा हुने रमाइलो सम्झदैँ राजुले भन्यो ।
“तर राजु, फुपूको विहे कोसँग हुन्छहोला ?” मिकीलाई खुल्दुली लाग्यो ।
“अँ । साँच्चै । ” राजुले भन्यो र फुपूको दुलहा को होला भनेर विचार गर्न थाल्यो ।
“जाउँ हिड । आमालाई सोधौ ।” मिकीले भनी ।
“नाई । नाई । फेरि ढोका ढकढकायौं भने गाली खाईन्छ । बरु पछि सोधौंला ।” राजुले डराउँदै भन्यो र पछाडि हट्यो ।
“धत् ! डराएर हुन्छ ? जाँउ हिड ।” मिकीले राजुलाई हकारिन् ।
“ठीकै छ । तपाई ढोका ढकढकाउनुहोस । म पछि पछि आउँछु । ” राजुले भन्यो । दुबैजना वैठकको ढोका अगाडि गए ।
“आमा ढोका खोल्नुहोस् । हामी पनि भित्र आउँछौ ।” मिकीले ढोका ढकढकाउँदै भनी । आमाले ढोका खोल्नु भयो ।
“ल भित्र आओ । तर हल्ला नगर नि ।” आमाले सम्झाउँदै भन्नुभयो ।
“हुन्छ आमा हामी ज्ञानी भएर बस्छौँ ।” दुबैले भने । उनीहरू खुसी हुँदै जानकी फुपूसँगै बसे । कोठाभित्र सबैजना खुसी देखिन्थे ।
“यी केटाकेटीहरु पनि एकछिन बाहिर बस भनेको मानेका होइन । ” आमाले दिक्क मान्दै भन्नुभयो ।
“ठीकै छ नि । केटाकेटी न हुन् ।” हजुरआमाले भन्नुभयो । मिकी र राजुलाई एउटा फोटो देखाउनुभयो । उनीहरुले फोटोलाई राम्ररी हेरे । मिकीलाई फोटोको मान्छे कता कता देखेजस्तो लाग्यो ।
“आमा यी को हुन् ?” मिकीले केही बेर सोचेर सोधी
“तिम्रो हुनेवाला फुपाजू ।” आमाले हाँस्दै भन्नुभयो ।
“आमा, म यो फोटोको मान्छेलाई चिन्दछु ।” मिकीले भनी ।
“कसरी चिन्यौ ?” आमाले जिल्ल पर्दै सोध्नुभयो ।
“विद्यालय जाँदा यो मान्छेलाई सधंै देख्छु । यो मान्छे त जड्याहा हो । सधै जाँड खाएर हल्ला गरिरहन्छ ।” मिकीले आफूले देखेको कुरा भनी ।
“चुप ! झन् हल्ला नगर भनेको त के–के बोल्छ के–के ।” आमाले हकारिन् ।
“साँच्चै आमा । यो मान्छे राम्रो छैन । यस्तो मान्छेसँग फुपूको बिहे नगरिदिनुहोस् ।” मिकीले भनी ।
“भैगो । भैगो । केटाकेटीलाई गाली नगर । के थाहा ! उनीहरुको कुरा साँचो पो हो की ?” बुबाले शंका गर्नुभयो । “मिकी, यो मान्छे मलाई देखाउन सक्छौँ ?” बुबाले सोध्नुभयो ।
“सक्छु ! बुबाको कुरा सुनेर मिकी खुसी भई । उसले बुबालाई सँगै लगी । उनीहरु विद्यालय नजिकको होटेल पुगे । त्यो मान्छे रक्सी पिइरहेको थियो ।
केही बेरमा उनीहरु घर फर्के । बुबाले मिकीलाई स्याबासी दिनुभयो । मिकी खुसी भई । जानकी फुपू त झन खुसी हुनभयो ।